एमाले र माओवादीबीच तालमेल नहुनुमा षडयन्त्रः प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले चैत २८ को संविधानसभा चुनावका लागि दलहरुबीच तालमेल नहुनुमा ठूलो षड्यन्त्र रहेको बताएका छन् । राजधानीमा चैत १० गते संचार समूह नेपालले गरेको साक्षात्कर कार्यक्रममा बोल्दै प्रचण्डले एउटै घोषणापत्र बनाएर चुनाव लडौं भन्दा एमालेले नमानेको उल्लेख गरे । प्रचण्डले यो चुनावमा सक्कली गणतन्त्रवादीबीचको लईको ‘फाईनल’ हुने पनि बताए ।
नेपाली संचारमाध्यमको भूमिकाप्रति प्रचण्डले कार्यक्रममा प्रचण्डले ठूलो चिन्ता जाहेर गरे । ‘जनयुद्ध’कालमा आफूहरुको टाउकोको मूल्य तोक्नेहरुलाई संचारमाध्यमहरुले गणतन्त्रवादी भनेर प्रस्तुत गरेकोमा चिन्तित बनाएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रा कार्यकर्ताले केही गरे ठूला समाचार बनाइन्छ, हाम्रा कार्यकर्ताको हत्या हुँदा भने आँखा चिम्लिइन्छ ।’
चुनाव आउनुभन्दा अघिका दिन निकै चुनौतीपूर्ण रहेको तथा त्यसबीच ठूला नेताहरुको हत्या हुनसक्ने खवर आफूले पाएको कार्यक्रममा प्रचण्डले दोहोर्याए । प्रधानमन्त्री र अन्य नेताहरुको सुरक्षा त्यही कारण कडा पारिएको पनि प्रचण्डको भनाइ थियो । नेताहरुको हत्या हुनसक्ने खवर गृहमन्त्रीले नै दिने गरेको पनि कार्यक्रममा प्रचण्डले खुलाशा गरे ।
नेपाली सेनाले आफू र सेनाका अधिकारीहरुबीच भेट नभएको दावी गरे पनि सेनाका कयौं जर्नेलहरुसँग आफूले भेटेको कार्यक्रममा प्रचण्डले बताए । सेनाका जर्नेलहरुसँग राष्ट्रियता जोगाउनेबारे छलफल हुनेगरेको प्रचण्डको दावी थियो । ‘सेनाले अझै ढाँटिरहन्छ भने म कुन दिन कोसँग भेट भयो भन्ने पनि खोलीदिन्छु’ प्रचण्डले भने ।