
अशोक सिलवाल
हरिवंश आचार्यलाई थप परिचय जरुरी छैन । पछिल्लो समय उनी हरिबहादुरको रुपमा पनि चर्चित छन् । नया नेपालको सास्कृतिक स्वरुप र आसन्न संविधानसभा निर्वाचनका बारेमा उनै हरिबहादुरको सम्वाद ।
नयाँ नेपालको सांस्कृतिक स्वरुप कस्तो हुनुपर्छ ?
जनजाति, भाषा, संस्कृति सबैको समानुपातिक प्रतिनिधित्व हुनुपर्यो । एउटै मात्र भाषाको एकाधिकार हुनुभएन । सबै भाषा र संस्कृति देशको सम्पत्ति हो । यो हामी सबैको देश हो भनेर गर्व गर्न सकिने वातावरण तयार हुनुपर्छ । स्थानीय भाषाका टेलिभिजन र रेडियो स्थापना हुनुपर्यो । त्यसको संरक्षणका लागि राज्यले पनि भरथेग गर्नुपर्यो । अर्को कुरा, विज्ञापनको निरन्तर उपलब्धता हुनुपर्यो । तर यी सब हुनाका लागि देशमा दिर्घकालिन शान्ति हुनुपर्यो । दिर्घकालिन शान्ति स्थापना भएपछि सबैले फल्ने फूल्ने मौका प्राप्त हुन्छ ।
लोकतन्त्र स्थापनापछि तपाईले चाहिँ के फरक अनुभव गर्नुभयो ?
हिजोको भन्दा फरक अनुभूति होला भनेर नै लोकतन्त्र ल्याएको हो, सबैले मिलेर । अहिले नै सबै किसिमले फरक त भइसकेको छैन । फरक होला नि । तर, अहिले नै फरक हुनुपर्छ, सबैको माग पूरा भइहाल्नुपर्छ भन्ने पक्षमा म चाहिँ छैन । यो संक्रमणकालिन अवस्था हो । यस्तो बेलामा आफ्नो भावनालाई कुण्ठित गरेर भए पनि राज्यलाई सकुसल अवतरण गराउनुपर्यो । हामीले के पायौं भन्दा पनि के दिन सक्यौं भन्ने बेला हो यो ।
भनेपछि, अहिले यो भएन, त्यो भएन भन्ने बेला हेइन ?
हो ।
जनआन्दोलनमा सक्रिय रहुनुभयो । जुन सपना लिएर तपाईहरु सक्रिय हुनुभएको थियो, त्यो अहिले पूरा हुँदै गरेको लक्षण देख्नुहुन्छ ?
सबभन्दा पहिले हामीले शान्तिको निन्द्रा सुत्न पाउनु पर्यो । त्यसरी सुत्न पाएपछि सपना देखिहालिन्छ नि । अनि राम्रो दिन पनि आउँछ ।
आगामी २८ चैतमा संविधानसभा निर्वाचन हुने भनिएको छ । हुन्छ जस्तो लाग्छ ?
हुन्छ जस्तो लाग्छ, मलाई । पहिले पनि हुन्छ जस्तो लागेको थियो तर भएन । अहिले पनि हुन्छ जस्तो लाग्या छ । हुन्छ होला ।
फेरि यसपटक पनि नहुने हो कि ?
यस पटक पनि भएन भने पनि अर्को पटक गर्नुपर्छ । यसमा हामी निरन्तर लागि रहनुपर्छ ।
लोकतन्त्र संस्थागत गर्न कलाकारहरुको भूमिका के हुन्छ ?
सबै नागरिकको जे भूमिका हुन्छ, हाम्रो पनि त्यही भूमिका हुन्छ । तर आम नागरिकहरु भन्दा बढी चिनिएको हुनाले हामीले बिखण्डनको कुरा गर्न भएन । देशमा सांस्कृतिक सद्भाव कायम राखेर अगाडि बढ्ने काम गर्नुपर्छ ।
हिजो आज के गर्दै हुनुहुन्छ ?‘
मदनबहादुर हरिबहादुर’को सुटिङमै व्यस्त छु ।
संविधानसभा निर्वाचन भन्दा सुटिङ नै प्यारो होइन त ?
हाम्रो मात्र होइन, तपाई पत्रकारहरुलाई पनि त आफ्नै पत्रिका प्यारो हुन्छ नि । हो कि होइन - हामीलाई हाम्रो पेशा प्यारो हुँदैन त ?