संविधानसभामा माओवादीको वहुमत आउनेछ: डा. भटराइ
अशोक सिलावल
राजनीतिका थोरै सेलिबेटी मध्येका एक हुन डा. बाबुराम भट्टराइ । यसै पनि माओवादी नेताहरु अझै पनि कथाका पात्र जस्तै लाग्छन् । भुमिगत जीवन र सशस्त्र युद्धको रोमाञ्चकता उनीहरुको जीवनको कौतुहलको विषय हो, आम मानिसका लागि । त्यसमा पनि डा. भट्टराइको अर्को पाटो पनि छ, त्यो हो उनको ज्ञानको व्यापकता ।
० दश वर्षे जनयुद्ध र लामो भूमिगत जीवनपछि खुला राजनीति अर्थात संविधानसभा निर्वाचनमा खुला रुपमा भिड्दै हुनुहुन्छ । त्यो समय र यो समयको तुलना गर्दा कस्तो अनुभूति भइरहेको छ ?
युगान्तकारी परिवर्तनको क्रममा संविधानसभा निर्वाचनमा सहभागी हुन पाउँदा गौरवको अनुभूति भइरहेको छ । माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धले नै नेपालमा संविधानसभालाई सम्भव बनाइराखेको छ । २००७ सालदेखिकै यो एजेण्डा राजतन्त्रवादीले तुहाउँदै आएका थिए । र, संसदवादी शक्तिहरुले पनि यसलाई कहिल्यै दह्रो रुपमा उठाउन सकेनन् । कम्युनिष्ट क्रान्तिकारीहरुले मात्रै दशौं हजारको बलिदान दिएर अहिले सार्थक बनाउँदै छन् । त्यसअर्थमा हामीलाई असाध्यै गौरवको अनुभूति भएको छ ।
० एकातिर संविधानसभा निर्वाचनमा व्यापक रुपमा लागिरहनु भएको छ । अर्कोतिर जसरी पनि सत्ता कब्जा गर्छौ पनि भनिरहनु भएको छ । यो त विरोधाभाष भएन र ?
सायद हाम्रो भनाइलाई गलत ढंगले बुझियो । अढाइसय वर्षदेखिको राजतन्त्र र सामन्तवादको अन्त्य गरेर अग्रगमनको निम्ति केन्द्रीय भूमिका खेलेको हुनाले माओवादीको हातमा सत्ता आएपछि जनमुखी एजेण्डा लागू हुनसक्छ । जसले आजीवन संविधानसभाको विरोध गर्यो, जो ढुलमुले यथास्थितिवादी शक्ति छन्, तिनीहरुले यो एजेण्डालाई लागू गर्न सक्दैनन् । त्यसैले माओवादीको नेतृत्व अनिवार्य छ भन्ने अर्थमा नै तपाइले भनेको कुरा राखेका हौं । हामीले जसरी पनि सत्ता कब्जा गछौं भन्नुको अर्थ अग्रगमन सुनिश्चित गर्नका निम्ति माओवादीको नेतृत्व संविधानसभामार्फत स्थापित हुन्छ भन्ने अर्थमा बुझ्न उपयुक्त हुन्छ ।
० राजनीतिक विकासका हिसावले त हामी समुन्नत हुने क्रममा छौं । तर, आर्थिक पाटो चाहिँ छायाँमा परे जस्तो छ । के हो माओवादीको आर्थिक एजेण्डा ?
आर्थिक र राजनीतिक क्रान्ति अन्तरसम्बन्धित हुन्छन् । हामी अहिले राजनीतिक क्रान्ति पूरा गरेर आर्थिक क्रान्ति अगाडि बढाउने क्रममा छौं । हामीले संविधानसभाका लागि भनेर प्रतिवद्धतापत्र तयार गरेका छौं । त्यसमा एक्काइशौं शताब्दीमा नेपाली समाजको आर्थिक, सामाजिक आमूल रुपान्तरणको एजेण्डा प्रस्तुत गरेका छौं । त्यसको सार भनेको आगामी १० वर्षभित्र मध्यम स्तरको, २० वर्षभित्र उन्नत स्तरको र ४० वर्षभित्र नेपाललाई विश्वकै सम्पन्नतम धनी देशको रुपमा परिणत गछौं । त्यसको निम्ति कृषिलाई उद्योगको रुपमा रुपान्तरण गर्ने, पर्यटन क्षेत्रलाई विशेष ध्यान दिने, जलविद्युतको विकासबाट औद्योगिक क्रान्तिको आधार तयार गर्ने लगायतका कुराहरु छन् । र, हाम्रो नेतृत्व स्थापित भयो भने आर्थिक क्रान्ति समपन्न गरेर गरिवी, वेरोजगारी, असमानताको अन्त्य गरेर नेपाललाई सम्पन्न मुलुक बनाउन सक्छौं भन्ने विश्वास छ ।
० यो भन्नको लागि मात्र भनिएको योजना हो कि पूरा गर्न सकिने योजना ?
माओवादी जस्तो क्रान्तिकारी शक्तिले भन्नको निम्ति मात्र भन्दैन । किनकी दशौं हजारको बलिदानी दिएर र नेतृत्व पक्ति आफै त्यसका लागि तयार भएर अगाडि आएको शक्ति हो, हामी । त्यसैले हामी संसदवादी शक्तिहरुले झैं जनतालाई झुक्याउन बेतुकका कुरा गर्दैर्नौ ।
० तपाईको दुइटा व्यक्तित्व छ- राजनीतिक र वौद्धिक/प्रविधिक । आफुभित्र यी दर्ुइ व्यक्तित्वबीच टकराव भएको अनुभव हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । मान्छे भनेको बहुआयमिक हुन्छ । र, ज्ञानको पनि कुनै सीमा हुँदैन । राजनीतिकर्मीको हिसावले प्राविधिक लगायत अन्य ज्ञानलाई लागू गर्नका निम्ति एउटा आधार तयार गरेको छ । मेरो प्राविधिक ज्ञानले आर्थिक नीति निर्माणमा पनि मद्दत पुर्याएको छ भने राजनीतिक कृयाकलापले प्राविधिक पाटोलाई कार्यान्वयन गर्ने वातावरण पनि बनाएको छ । त्यसैले यी दर्ुइथरी व्यक्तित्व अन्तरविरोधी होइन, परिपुरक भएका छन् ।
Great Article
Comment by Krishna — March 12, 2008 @ 6:38 am