राजधानीमा चुनावी प्रतिस्पर्धा
काठमाडौं निर्वाचन क्षेत्र १ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर १०, ११, ३२ र ३४ छन् । नयाँ बानेश्वर, मिनभवन रहेको यो क्षेत्रमा गाउँ बिकाश समितिहरु छैनन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट प्रदीप नेपाल र माओवादीबाट राममान श्रेष्ठ उमेद्वार छन् । सिंह नेपाली कांग्रेसका उपसभापति हुन् । नेपाल एमाले स्थायी समिति सदस्य तथा शिक्षा मन्त्री छन् भने श्रेष्ठ एमालेबाट माले हुँदै माओवादीमा प्रवेश गरेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर ९ र ३५ छन् । यो क्षेत्रमा लप्सीफेदी, साँखु सुनटोल, साँखु बज्रयोगीनी, गोठाटार, इन्द्रायणी, मूलपानी, नाङ्लेभारे, थली डाँछी र पुखुलाछी गाउँ बिकाश समिति छन् । यो क्षेत्रबाट एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेसबाट दिपकप्रसाद कुँइकेल र माओवादीबाट झक्कुप्रसाद सुवेदी उमेद्वार छन् । कुँइकेल नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता हुन् भने सुवेदी २०४९ को स्थानीय निर्वाचनमा रोल्पा जिल्ला बिकाश समितिमा माओवादीबाट सभापति निर्वाचित भएका थिए ।
निर्वाचन क्षेत्र नम्बर ३ मा काठमाडौ महानगरपालिकाको वडा नम्बर ६ मात्रै छ । यो क्षेत्रमा गोकर्णेस्वर, सुन्दरीजल, आलापोट, बालुवा, भद्रवास, जोरपाटी, नयाँपाटी र गागलफेदी गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट रामेश्वर फुँयाल, नेपाली कांग्रेसबाट चक्रबहादुर ठकुरी, माओवादीबाट मनु हुमागाई उमेद्वार छन् । फुँयाल काठमाडौ जिल्ला बिकाश समितिका पूर्व उपसभापति तथा एमाले काठमाडौका सचिव हुन् । ठकुरी काठमाडौ कांग्रेसका नेता हुन् भने हुमागाई माओवादीको महिला नेतृ हुन् ।
निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३३ छन् । यो क्षेत्रमा महाँकाल, चपली भद्रकाली, चुनीखेल र कपन गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट बिद्या भण्डारी, नेपाली कांग्रेसबाट सुप्रभा घिमिरे र माओवादीबाट पवनमान श्रेष्ठ उमेद्वार छन् । बिद्या भण्डारीले २०५० को उपनिर्वाचनदेखि तीन पटक काठमाडौंमा संसदीय चुनाव जितिसकेकी छिन् । घिमिरे नेपाल प्राध्यापक संघको पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ माओवादीको नेवा राज्य समितिको नेता हुन् ।
निर्वाचन क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ छन् । यो क्षेत्रमा टोखा सरस्वती, टोखा चण्डेश्वरी, धापासी, खड्का भद्रकाली, बुढानिलकण्ठ गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा , एमालेबाट इश्वर पोखरेल, नेपाली कांग्रेसबाट नरहरि आचार्य र माओवादीबाट बिपेन्द्र महर्जन छन् । पोखरेल एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री हुन् । आचार्य नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् भने महर्जन माओवादीका स्थानीय कार्यकर्ता हुन् ।
निर्वाचन क्षेत्र नम्बर ६ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर २९, ३० र ३१ छन् । यो क्षेत्रमा धर्मस्थली, गोगंबु, मनमैजु, झोरमहाँकाल, काभ्रेस्थली, फुटुङ र साङ्ला गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट भिमसेनदाश प्रधान, एमालेबाट योगेश भट्टराई र माओवादीबाट हितमान शाक्य उमेद्वार छन् । प्रधान काठमाडौं कांग्रेसका नेता हुन् भने भट्टराई एमाले उपत्यका समन्वय कमिटीका सचिव छन् । शाक्य माओवादी केन्द्रीय सदस्य छन् ।
निर्वाचन क्षेत्र नम्बर ७ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १६, १७, १८, २६, २७ र २८ छन् । यो क्षेत्रमा इचंगुनारायण, जीतपुर फेदी र गोलढुङ्गा गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसबाट श्रीमती प्रमिला सिंह र माओवादीबाट हिसिला यमी उमेद्वार छन् । श्रेष्ठ एमाले केन्द्रिय सदस्य हुन् । सिंह कांग्रेसको स्थानीय नेतृ हुन् भने यमी अहिले भौतिक योजना तथा निर्माण मन्त्री छिन् ।
निर्वाचन क्षेत्र नम्बर ८ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर १३, १५, १९, २०, २३, २४ र २५ तथा सितापाइला गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसबाट नवीन्द्रराज जोशी र माओवादीबाट सर्बोत्तम डङ्गोल उमेद्वार छन् । शाक्य एमाले केन्द्रीय सदस्य तथा सांसद हुन् । नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पुर्व उपमेयर हुन् भने डङ्गोल माओवादीका स्थानीय कार्यकर्ता हुन् ।
निर्वाचन क्षेत्र नम्बर ९ मा काठमाडौं महानगरपालिका वडा नम्बर १२, १४, २१ र २२ छन् । यो क्षेत्रमा नैकाप नयाँभञ्ज्याङ, तीनथाना, बलम्बु, नैकाप पुरानो भञ्ज्याङ, भीमढुङ्गा, रामकोट, दहचोक स्यूचाटार गाउँ बिकाश समिति पर्छन् । यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ, नेपाली कांग्रेसबाट ध्यानगोबिन्द रञ्जित र माओवादीबाट माइला लामा उमेद्वार छन् । श्रेष्ठ एमाले केन्द्रीय सदस्य हुन् । रञ्जित काठमाडौ कांग्रेसका नेता हुन् भने लामा माओवादी कार्यकर्ता हुन् ।
निर्वाचन क्षेत्र नम्बर १० मा किर्तिपुर नगरपालिका तथा सैखेल सेतीदेवी, शेषनारायण, टल्कुडँडेचौर, छैमले, दक्षिणकाली, चाल्नाखेल, सतुङ्गल, मच्छेगाउँ, महादेवस्थान, मातातिर्थ, बाँडभञ्ज्याङ र थानकोट गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा माओवादीबाट प्रचण्ड अर्थात पुष्पकमल दाहाल, एमालेबाट सानु श्रेष्ठ र नेपाली कांग्रेसबाट राजेन्द्रकुमार केसी उमेद्वार छन् । प्रचण्ड माओवादी अध्यक्ष हुन् । श्रेष्ठ काठमाडौ जिल्ला बिकाश समितिका पुर्व सभापति हुन् भने केसी नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।