पत्रकार हप्काउनेले के जित्लान चुनाव
चुनावी अभियानमा व्यस्त रहेका रिपब्लिकनका राष्ट्रपति उम्मेदवार जोन म्याकेनले शुक्रबार बिहान एटलान्टामा पत्रकारलाई हप्काएका छन् । द न्युयोर्क टाइम्सकी पत्रकार महिला एलिसावेद बुमिरले सोधेको प्रश्नको उत्तर दिनुको सट्टा उनी झोकिँदै भने, ‘सबैलाई थाहा छ, मेरो जोन केरीसँग व्यक्तिगत कुराकानी भएको थियो । यो तपाइंलाई राम्रैसँग थाहा छ हैन ?’
जोन केरीको उपराष्ट्रपति हुने सम्बन्धमा सन् २००४ मा म्याकेनले वार्ता गरेको सम्बन्धमा रिपोर्टर बुमिरले जिज्ञासा राखेकी थिइन् । ‘के तपाइर्ं जोन केरीलाई तपाइर्ंको उपराष्ट्रपतिको रूपमा हेर्नुहुन्छ, केरीले त तपाईंलाई उपराष्ट्रपतिको प्रस्ताव राखेका थिए ?’ यस प्रश्नको उत्तर रिसले मुर्मुरिँदै म्याकेनले दिए- ‘हेर्दिनँ ।’ बुमिरले म्याकेनको पिछा लाग्न छोडिनन् । टाइम्स आर्काइभ उद्धृत गर्दै उनले फेरि सोधिन्, ‘केरीसँग कुरा गरेको बारेमा तपाइर्ंले २००४ मा किन ढाँट्नुभयो ?’ पत्रकारलाई बीचमा रोक्दै उनी गर्जिए, ‘सबैलाई थाहा छ, हाम्रो व्यक्तिगत कुराकानी भएको थियो ।’ बुमिरले फलोअप मात्र गर्न के खोज्थिन्, बीचैमा म्याकेन गर्जिहाल्थे । म्याकेन निकै नै आक्रमक देखिन्थे ।
‘मलाई तपाइर्ं के पढ्नुहुन्छ, के सुन्नुहुन्छ केही थाहा छैन र मलाई कुराकानीको केही पृष्ठभूमि पनि थाहा छैन,’ उनले भने । ‘हुन सक्छ, मैले २००४ को मेमा केही कुराकानी नै गरिनँ,’ रिसले चुर भएका म्याकेन केही ठन्डा हँुदै भने । रिपोर्टर बुमिरले सोधिन्, ‘के तपाइर्ं त्यस कुराकानीको केही अंश सम्झन सक्नुहुन्छ ?’ ‘मलाई थाहा छैन, तर मैले केरीसँग छलफल गरे भन्ने दुनियाँलाई थाहा छ । त्यसैले तपाईंसँग अर्काे सवालमा केही प्रश्न छ ?,’ म्याकेनले रिपोर्टरमाथि प्रतिप्रश्न गर्दै भने ।
फेरि पनि बुमिरले केरीसँग भएको छलफलको प्रसंग उठाउँदा म्याकेनले पत्रकारलाई थर्काउँदै उनले भने, ‘होइन, होइन । किनभने यो विषय क्लोज भइसकेको छ, यो सबैलाई थाहा छ, अमेरिकामा यो सबैलाई थाहा छ ।’ के तपाइर्ं छलफलका केही अंश बताउनुहुन्छ ? ‘सक्दिनँ, कदापि सक्दिनँ । म व्यक्तिगत कुराकानी भन्दिनँ । प्राइभेट कुराकानी तपाईलाई के मतलब ?’ झोक्की सिनेटरका रूपमा चिनिने म्याकेनलाई कयौं पत्रिकाले ‘सिनेटर हटहेड’ उपनाम दिएका छन् ।