सहमति पछिका संभावनाहरु
राजधानीमा झरी परेपछिको विहान आंखा अली ढिलै खुले । न त कलेज जाने चटारो न त वित्दो अरु काम नै केही । विहान उठेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल चिहाउदै चियाको सुर्को लिएपछि व्लग अपडेट गर्न मन लाग्यो । यतिवेला विहानको सात वजेर त्यस्तै दश मिनेट हुदो छ । म रहेको राजधानीको ३५ तिनकुने स्थित घरमा त्यति सफा घामका किरणहरु आइपुगेका छैनन । यद्धपि अपरान्ह घाम लाग्ने देखिएको छ । चियासंगै विहानका पत्र पत्रिकाहरु एक चरण पढिइसकेका छन । पढ्नै पर्ने र छुटाउनै नहुने त्यस्तै आर्टिकल भए पुन पल्टाउने नभए त्यत्तिकै थन्काइदिने त हो नी पत्रिकाहरुपनि । धन्न तराइमा आन्दोलनरत पक्ष र सरकारबीचका श्रृंखलावद्ध वार्ताहरु मिलेपछि मुलुकमा केही आशा जागेको छ । राजनैतिक अस्थिरता, इन्धन अभाव, निराशै निराशाबीच मुलुक रहदा कतै अष्ट्रेलिया या नर्डिक कन्ट्रीको भएपनि एम्वेसी धाउनु पर्ने हो की भन्ने डरले अव घर जमाउन छोडेको छ । त्रिचन्द्र या आरआरको स्टाइलमा चलेका सिड्नी र मेलवर्नका कलेजमा क्लास भ्याउनु र रोजगारविहिन जिन्दगी विताएर चरम निराशामा फस्नु दैनिकी वनेका नेपाली विद्यार्थीको माझमा अर्को एक संख्या थप्नुको कुनै मतलव छैन भनेर नै मैले आफ्नो गन्तव्य ती राष्ट्रहरुमा नभै गांउलाइ वनाउने निधो गरेको हु । आज सार्वजनिक भएको खवरले म जस्ता गांउ भुल्न नसक्ने औपचारिक शिक्षा पुरा गरेको युवालाइ उत्साहित वनाएको छ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा स्नातकोत्तर उतिर्ण युवाहरुलाइ स्वंयसेवकका रुपमा कम्तिमा दश महिनाकालागि गांउ पठाउने भएको छ । यो निर्णयपछि विद्यार्थीहरुलाइ स्नातकोत्तरतहमा थेसिस संगै गांउको विकास प्रक्रियाका वारेमा जानकारी मिल्ने भएको छ । सपनाको खेतिकालागि मुलुकवाट पलायन भएका तर हातमा शुन्य लागेका तमाम युवाहरु स्वदेशमै फर्केर केही गर्ने अवसर पनि हो यो त्यसकालागि हातेमालो गर्न मुलुकमा युवाहरु फिर्ने अनाशापनि मुलुकले लिएको छ । त्यसमा तपाइको मतो कस्तो होला ?