February 28, 2008

सरकार र मधेशीबीचको वार्ता सफल, आन्दोलन फिर्ता

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच फागुन १६ गते आठ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारतर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाबाट महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकार र मोर्चाबीचको यो सहमतिले चैत २८ को संविधानसभा चुनावका लागि थप अनुकुलता सिर्जना भएको छ । हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले आजै मन्त्री परिषदको बैठक बस्ने र त्यसले सहमति कार्यन्वयनको प्रक्रिया अघि बढाउने बताए । मधेशी मोर्चालाई चुनावमा सहभागी गराउन समानुपातिक र प्रत्यक्षतर्फ उमेद्वारी दर्ताको समय दिइने पनि सहमति भएको बताइएको छ ।

{सहमति पछि वालुवाटारमा प्रधानमन्त्री र मधिशे नेताहरु}

सरकार र मोर्चाबीचको आठ बुँदे सहमतिको पहिलो बुँदामा मधेशी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरिएको उल्लेख छ । दोश्रो बुँदामा मधेशी आन्दोलनको मूख्य मागबारे सम्बोधन भएको छ । सहमतिको दोश्रो बँदामा भनिएको छ, ‘मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितका संघीय संरचनाको आकंक्षालाई स्विकार गरि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशकाबीच स्पष्टरुपमा शक्तिको बाँडफाँड सूचीका आधारमा गरिनेछ । प्रदेशहरु पूर्णरुपमा स्वायत्त र अधिकारसम्पन्न रहनेछन् । नेपालको सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्दै केन्द्र र प्रदेशहरुका सूचीहरुको पूर्ण बिवरण अधिकारको बाँडफाँड संविधानसभाबाट गरिनेछ ।’

सहमतिको तेश्रो बुँदामा संविधानसभा चुनावमा २० प्रतिशतभन्दा बेशी उमेद्वारी दिने दलले उमेद्वारको सूची समावेशी बनाउनुपर्ने प्रावधान सच्याइ ३० प्रतिशत पुर्‍याइएको उल्लेख छ । सहमतिको चौथो बुँदामा सरकारले सुरक्षा अंगलगायत राज्यका सबै अंगलाई समावेशी बनाउनुपर्ने लेखिएको छ ।

सहमतिको पाँचौ बुँदा नेपाली सेनाबारे केन्द्रित छ । निकै बिबादपछि सहमति बनेको यो बुँदामा ’ नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समूदायको समानुपातिक, समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ’ भनिएको छ । सहमतिको ६ नम्बर बुँदामा तराईका सशस्त्र समूहलाई वार्तामा बोलाउने उल्लेख छ । ७ नम्बर बुँदामा मधेशी जनअधिकार फोरमसँगको २२ बुँदे सहमति कार्यन्वयन तथा बन्दी रिहाई र मुद्धा फिर्ताका कुरा उल्लेख छन् । आठ नम्बर बुँदामा मधेशी आन्दोलन फिर्ता लिइएको लेखिएको छ ।  

February 25, 2008

पैदल यात्राका ९ फाइदाहरु

राजधानी लगायत मुलुकभर इन्धनको अभावले सवारी साधनहरु छिटफुट मात्र चलेका छन । यसै प्रभावले मेरो व्यक्तिगत सवारी साधन स्पेलन्डरपनि ग्राउन्डेड भएको छ । आ भए होस पैदलै सही भनेर पांच पांच घन्टा तेलको लाइन नवसेर मैले पैदलै हिड्न शुरु पनि गरेको छु । खुट्टालाइ सास्ती र समस्या पो पर्ला भनेको त पैदल यात्राले मलाइ पुर्याउनुसम्म फाइदा पुर्याएको छ । यसै मेसोमा मैले पैदल यात्राका फाइदाहरु तपाइसामु पस्किएको छु ।

१ स्फुर्ती वढ्ने

दैनिक कम्तिमा दुइ घन्टा पैदल हिड्नेको शरिर सफुर्तीयुक्त हुन्छ । शरिरमा स्फुर्ती र ताजगीकालागि पैदल यात्रा जरुरी मानिन्छ । चिकित्सा विज्ञानले पनि व्यक्तिगत स्वास्थ्यकालागि पैदल यात्रालाइ जोड दिन्छ ।

२ स्वास्थ्यको लाग राम्रो

मधुमेह र उच्च रक्तचापका विरामीहरुकालागि त चिकित्सकले नै पैदल यात्राको सल्लाह दिन्छन । पैदल यात्राले न्युरो र अन्य दीर्घ रोगीहरुलाइ समेत राम्रै फाइदा पुग्छ ।

३ पैसाको वचत

सवारी साधानमा यात्रा गर्नु धनको नास गर्नु पनि हो । पैदल यात्रामा भने पैसा खर्च हुदैन । अर्थशास्त्रको सामान्य सिद्धान्तका अनुसारपनि पैसा कमाउनु भन्दा वचत गर्नु ठुलो कुरा हो । त्इयसैले पनि पैदल यात्राका कारण पैसाको वचत हुन्छ ।

४ आफन्तहरुसंग भेटघाट हुने

सधै मोटरमा सवार व्यक्तिले आफन्त र चिनेजानेकाहरुलाइ भेट्न खास समय नै निर्धारण गर्नु पर्छ । पैदल यात्रीले भने त्यस्ता व्यक्तिहरुसंग वाटो घाटोमा नै भेट गर्न पांउछ । अझ कतिपय अवस्थामा त पैदल यात्राकै क्रममा राम्रा र संझन योग्य मित्रता जोडिएका उदाहरुण समेत पाइन्छन ।

५ जनजीवनसंग नजिक हुन पाइने

नाङगो आंखाले देखिने सवै चिजहरु प्राइमरी ज्ञानका स्रोतहरु हुन । पैदल यात्री समाज र जनजीवनसंग नजिक हुन पाउछ । आजका युगमा समाज र जनजीवन वुझ्नु अत्यन्तै महत्पुर्ण हुन्छ । त्यसैले पनि सवारी साधनमा यात्रा गर्नेको तुलनामा पैदल यात्रीले जनजीवनलाइ नजिकवाट वुझ्न पउछ ।

६ दीर्घ जीवन

संसारमा ठुला दुर्घटनाहरु मेशिनरी चिजकै कारण भएका छन । चाहे वम विष्फोट हुन चाहे सवारी दुर्घटना । ती सवै घटनावाट जन धनको ठुलो क्षति भएको पाइन्छ । पैदल हिड्ने व्यक्ति यस्ता दुर्घटनावाट हुने खतरावाट टाढै रहने भएकाले पैदल यात्राका कारण दीर्घ जीवनको संभावना वढ्छ ।

७ तनाववाट टाढा

सवारी चलाउंदा अक्सर तनावमा आइरहनु पर्छ । पैदल यात्रीले वाटो काट्दा होस या अन्य सवारीले ओभरटेक गर्दा । अझ काठमाण्डौका सडकमा त गाइ वस्तुको समस्यापनि उक्तिकै छ । पैदल यात्री जहिलेपनि यस्ता झमेलावाट टाढा रहने भएकाले पैदल यात्री सदैव तनाववाट टाढा रहन्छ ।

८ मिठो निन्द्रा पर्ने

आजको दुनीयामा जो काही वेलुकीको मिठो न्रिदराको पर्खाइमा हुन्छ । दिनभर मोटरमा कुद्दा सरिरलाइ आवस्यकता वमोजिम एक्सरसाइज मिल्दैन त्यसैले पनि वेलुकीको मिठो न्रिदरा  सवारी साधनमा हिड्नेहरुले प्राप्त गर्दैनन । तर पैदल यात्रीहरुले भने शारिरिक व्यायामका कारण हरेक वेलुकी मिठो निन्द्रा प्राप्त गर्दछन ।

९ प्रदुशणवाट मुक्त

कालो धुंवा फाल्दै हिड्ने सवारीको पछाडी दौडनेले भन्दा खुल्ला सडकमा हिड्नेले मिठो र स्वस्थ्य अक्सिजन लिन पांउछ । विश्वमा प्रदुशण वढाउनमा सवारी साधनहरु प्रमुख रहेका छन । तर पैदल यात्रीले न त प्रदुशण वढाउन न त सवारी साधनमा कुद्नेले जस्तो अस्वस्थ हावा नै लिन्छ ।

मैले पैदल यात्राका क्रममा यी फाइदाहरु भेटेको छु । तंपाइहरुले थप केही फाइदा देख्नु भएको छ भने लेख्न नभुल्नु होला ।

यस्तो पो स्मरणशक्ति !

उनले सम्झन थाल्ने उमेरयता भएका सबै कुरा सम्झन्छन् । ५१ वषर्ीय बार्ड विलियम्सलाई विगत जीवनका विवरण सबै कन्ठै छन् । सन् १९६५ अगस्ट १८ मा के भएको थियो उनी बताउन सक्छन् । उनी त्यतिबेला आठ वर्षका मात्र थिए । रेडवार्न ह्यामबर्गर रेस्टुराँ छिरेर परिवारका साथ ह्यामबर्गर खाएको याद उनलाई छ । त्यो बुधबारको दिन थियोउनी सम्भ"mदै भन्छन् । हामीले त्यस रात मिचिगनको क्लेर होटलमा बितायौं,’ उनले भने । आफूलाई होटलको कोठा क्याबिनजस्तो लागेको पनि उनले सुनाए । विलियम्सको सम्झने बानी उनको परिवारका लागि राम्रो समय काट्ने मेलो बनेको छ । परिवारमा भएका घटनाको मिति र त्यसको विवरणको सम्झना गरेर मनोरञ्जनका साथ आफूले समय काट्ने र परिवारको समय पनि कटाउने उनले गरेका छन् । एक विज्ञका अनुसार उनको स्मरणशक्ति विश्वमै उत्कृष्ट हो । अर्की एक तीक्ष्ण स्मरणशक्ति भएकी महिलाका बारेमा पनि चिकित्सकले अध्ययन गरिरहेका छन् ।

विलियम्स ला क्रोस रेडियोका उद्घोषक हुन् । ४० वर्षयताका वा त्यसभन्दा पनि अगाडि भएका घटनाका बारेमा सोध्नुहोस्, तपाईंको प्रश्न र्झन नपाउँदै उनी फरर्र उत्तर भट्टाउन थाल्छन् । कुन दिनमा उनले कुन समाचार उद्घोषण गरे, उनको जीवनमा कुन दिनमा के भयो उनी बताउन सक्छन् ।
नोभेम्बर ७, १९९१ मा के भएको थियो ?

यस प्रश्नको जवाफ दिनुअघि पाँच सेकेन्डसम्म आकाशतिर टाउको घुमाउँदै उनी घोत्लिए र भने, ‘त्यस दिन म्याजिक जोनसनले आफूलाई एचआइभी भएको घोषणा गरे, त्यो दिन बिहीबार थियो ।यसको उत्तर दिइसक्न नपाउँदै विलियम्सले अन्य २० घटनाको मितिलगायत विवरण नै सम्झन थाले । पहिलो टेस्टट्युब बेबी जन्मेको मिति १९७८ भन्ने कण्ठस्थ नै छ । भारतको भोपालमा सन् १९८४ मा ग्यास लिक भएको पनि उनलाई सम्झना छ ।

सन् १९७३ मा बबी रिग्सलाई हराउँदै बिली जिन किङ्स ब्याटल अफ द सेक्सेजका रूपमा चर्चित टेनिस प्रतियोगितामा विजयी भएको उनले बताए ।म सधैं यस्तै नै थिएँ,’ उनले भने, ‘बच्चैदेखि अन्यभन्दा फरक भएको महसुस कहिल्यै भएन,’ आपmना बारेमा बताउँदै उनले भने ।

अर्की एक ४० वषर्ीया एजेको नामले चिनिने महिलाको स्मरणशक्ति पनि निकै तेज भएको बताइएको छ । कुनै मिति भन्नेबित्तिकै वा त्यसको याद आउनेबित्तिकै त्यस मितिमा भएका घटनाका विवरण उनका दिमागमा भरिन थाल्छन् । आफ्नो यस्तो स्थिति भएकामा उनी दुःखमनाउ गर्छिन् । कतिले यसलाई उपहार सम्झन्छन् तर मेरा लागि यो घाँडो हो,’ उनी भन्छिन् । विवरणले भरिएको दिमाग लिएर दिनप्रतिदिन बाँच्नुपर्दा यसले मलाई पागल बनाइसक्यो,’ उनले भनिन् ।

युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्रोफेसर डा. जेम्स म्याकगेनले एजेको मनोवैज्ञानिक परीक्षण गरेका थिए । उनलाई कुनै मिति दिइएको थियो । कुनै गल्तीबिना नै एजेले त्यस मितिमा भएका घटनाको विवरण बताइन् । ५० देखि १०० अक्षर वा अंक कन्ठै पार्नसक्ने मानिस धेरै भएको वैज्ञानिक दस्तावेजले बताएको छ । एक व्यक्तिले तीन सय ३० शब्दको कथा पढेको एक वर्षपछि फरर्र सुनाएका थिए ।

February 24, 2008

फिडेल क्यास्ट्रोको बहुरंगी जीवनका झलक

केही दिनअघिसम्म क्युवाका राष्ट्रप्रमुख फिडेल क्यास्ट्रो विश्वको सर्वशक्तिमान कहलिएको राष्ट्र अमेरिकासँग पौंठेजोरी खेल्ने छविको बारेमा त धेरैलाई थाहा छ । तर, उनको जीवनको सेरोफेरोका धेरै तथ्यहरू आममानिसले थाहा पाएका छैनन् । उनको जीवनको बारेमा केही तथ्यहरूः

 * फिडेल क्यास्ट्रो संसारकै सबैभन्दा लामो समय सत्तामा रहने तेस्रा राष्ट्रप्रमुख हुन् । पहिलो नम्बरमा बेलायतकी महारानी एलिजावेथ र दोस्रो नम्बरमा थाइल्यान्डका राजा रहेका छन् । २००६ को जुलाईमा भाइ राउल क्यास्ट्रोलाई सत्ता सुम्पेका क्यास्ट्रो लामो समयदेखि अस्वस्थका कारण सार्वजनिक जीवनमा देखिएका थिएनन् ।

* सेप्टेम्बर २९, १९६० मा संयुक्त राष्ट्रसंघको महासभामा ४ घन्टा २९ मिनेट लामो भाषण दिएपछि लामो भाषणकर्ताको रूपमा उनको नाम गिनिज बुक अफ रेकर्डसमा समावेश गरिएको छ । सन् १९८६ मा कम्युनिस्ट पार्टीको तेस्रो कंग्रेसमा उनले ७ घन्टा १० मिनेट लामो भाषण दिएका थिए ।

* क्यास्ट्रोले जीवनमा ६ सय ३४ आफ्नो ज्यान लिने योजनाको बारेमा सुइँको पाएको दाबी गरेका छन् । थाहा नभएका त कति होलान् कति । धेरैजसो आफ्नो मृत्युको योजना अमेरिकी सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सिआइए) ले बनाएको आरोप पनि उनको छ । आफ्नो हत्या गर्न औषधिमा विष मिलाउने, दारी झार्न पाउडरदेखि लिएर स्विमिङ सुटमा रासायनिक पदार्थ हाल्ने कामसमेत भएको उनको दाबी छ ।

* सिआइएको ज्यान लिने जाल, अमेरिकी समर्थित देश निकाला गरिएका क्युवालीको बे अफ पिंसको नियन्त्रणलगायत ४ दशकसम्मको आर्थिक नाकाबन्दी हुँदाहुँदै पनि क्यास्ट्रोले ९ अमेरिकी राष्ट्रपति सानदारपूर्वक झेलेका छन् । ३४औं अमेरिकी राष्ट्रपति ड्वाइलाइट इसेनहावरदेखि लिएर बिल क्लिन्टन चाखिसकेका छन् । जर्ज डब्लु बुसको कार्यकालमा अमेरिकाले क्यास्ट्रोप्रतिको तिरस्कारमा थप वृद्धि भयो । आर्थिक नाकाबन्दी र क्युवा भ्रमण नीतिमा बुसले कडाइ गर्दै आएका छन् ।

* एकताकाका सिगारका प्रशंसक गुरिल्ला फाइटर क्यास्ट्रोले सन् १९८५ मा सिगार छोडेका थिए । केही वर्षपछि धुम्रपानको हानिबारे बताउँदै क्यास्ट्रोले भने, ‘यस सिगार बक्सको सबैभन्दा राम्रो उपयोग शत्रुलाई यो बक्स उपहार दिनु हो ।’

* क्यास्ट्रोका कम्तीमा आठ सन्तान छन् । उनका जेठा छोराको नाम फिडेल क्यास्ट्रो डियाज-बालार्ट बाबुका प्रतिरूपका रूपमा परिचित छन् । उनी आणविक वैज्ञानिक हुन् । उनले रसियाबाट तालिम लिएका थिए । छोरी एलिना फर्नान्डेज उनको हावनाकी सोसलाइटसँगको सम्बन्धबाट जन्मिएकी हुन् । उनी त्यतिबेला भूमिगत जीवन बिताइरहेका थिए । छोरी एलिना बाबुको कडा विरोधीका रूपमा चिनिन्छन् । पर्यटकको भेषमा उनले १९९३ मा क्युवा छोडिन् । मायामी रेडियो कार्यक्रमबाट उनले आफ्नो पिता क्यास्ट्रोको सत्ताको आलोचना गरिन् । दोस्री श्रीमती डालिया सोटोबाट क्यास्ट्रोका पाँच छोरा छन् । उनीहरू सबैको नामको सुरुवात ‘ए’ अक्ष्ारबाट हुन्छ । कान्छा छोरा एन्टोनियो राष्ट्रिय बेसबल टिमका डाक्टर हुन् ।

* क्यास्ट्रोको ‘उब्रे बाल्नचा’ प्रोजेक्टले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समावेश भएको थियो । गाईलाई लिएर सञ्चालन गरेको सो प्रोजेक्ट सामूहिक खेतीको नमुनाको रूपमा सन् १९८० ताका चर्चामा रहेको थियो । उब्रे बाल्नचा गाईले एक दिनमा एक सय दस लिटर दूध दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समाविष्ट छ ।

February 22, 2008

हुनेवाला श्रीमतीका वारेमा गगन थापा

यिनी जीवनलाई क्लोजअपमा हेन चाहँदैनन् । ‘नजिकबाट हेर्दा बढी दुःख देखिन्छन्, जीवनलाई जहिल्यै वाइड सटमा हेर्नुपर्छ । टाढाबाट हेदा दुःखमा पनि सुख देखिन सक्छ,’ देशका सबैभन्दा चर्चित विद्यार्थी नेता गगन थापाको सुखी जीवनको सूत्र हो यो । तर, यिनकी हुनेवाली श्रीमतीले जीवनलाई कुन एंगलबाट हेर्लिन् ? हुनेवालीका विषयमा गगनका अपेक्षा के-के छन्, उनी कस्ती श्रीमती चाहन्छन् ?

‘मेरो सुखी जीवनको सूत्रलाई बुभmने, घरमा अँध्यारो बढ्दै जाँदा, अन्धकारलाई गाली गर्नुको साटो मैनबत्ती जलाउने खालकी हुनुपर्छ,’ भावी दुलहीका लागि उनले तोकेको ‘क्राइटेरिया’ हो यो । यसबाहेक सौर्न्दर्यका दृष्टिले यी कस्ती केटी मन पराउँछन् ? ‘पातली नै राम्रो हुन्छ जस्तो लाग्छ,’ उनले भने । रंगको सवालमा भने उनले आफूजस्तै रोजे- ‘मलाई गोरीभन्दा कालो वर्णकी नै राम्री लाग्छन् ।’ यसको कारण पनि छ? ‘धेरै गोरी श्रीमती भइन् भने म बढी नै कालो देखिने संभावना हुन्छ, परिवारको रंगको सन्तुलनका लागि पनि हल्का काली नै ठीक होलाजस्तो लाग्छ,’ उनले भने ।

‘म संसारलाई ढाँट्न सकुँला तर राति ओछ्यानमा सुत्दा म आपै+mलाई ढाँट्न सक्दिनँ । र, भोलि ओछ्यानको अर्कोपट्ट सुत्नेलाई पनि ढाँट्न नपरोस्, पर्‍यो भने जीवन बर्बाद हुन्छ,’ यो उनको सुखी जीवनकै एउटा दर्शन हो । संसारमा सबैभन्दा बढी जोक र भनाइ वैवाहिक जीवनका विषयमा हिट छन् । जसमा एउटा यस्तो छ- ‘विवाहको औंठी संसारको सबैभन्दा सानो हत्कडी हो ।’ श्रीमतीलाई औंठी उपहार दिने योजनामा रहेका गगन यस भनाइलाई रमाइलो त मान्छन् तर ठीक भन्दैनन् । ‘विवाहले दुइ जनाको एउटा समुदाय बनाउँछ, जसमा एउटा ‘मास्टर’ र अर्को ‘मिस्ट्रेस’ हुन्छन् र दुवै एक-अर्काका दास पनि हुन्छन्,’ उनी विवाहोत्तर जीवनका विषयमा आशावादी दर्शन पालेर बसेका छन् । ‘विवाहले जीवनमा धेरै दायित्व र केही पीडा पनि थप्ला तर मलाई ब्रह्मचर्यको आनन्दभन्दा विवाहको पीडा नै मीठो होलाजस्तो लाग्छ,’ उनी भन्छन् । बिहेपछि उनलाई जीवन अलि व्यवस्थित होला कि भन्ने लाग्छ ।

गगनले आपmनी हुनेवालीका लागि कुनै जात, धर्म वा क्षेत्र छुट्टयाएका छैनन् । कामका हिसाबले पनि कुनै रोजाइ छैन । ‘अर्को कुनै क्ष्ँेत्रकी भए बढी राम्रो होला,’ उनको प्राथमिकतामा आफूजस्ता राजनीतिक कार्यकर्ताले खास महत्त्व पाएको नदेखेपछि सोधियो- ‘राजनीति गर्ने नै परे भने नि †’ उनले भने- ‘राजनीतिमा संलग्नसँगै भयो भने त्यो आपmनोभन्दा अरू पार्टीको भइदिए राम्रो ।’ यस्तो भयो भने, दिनरात घरझगडा नहोला त ? ‘आपmनै पार्टीको हुँाचाहिँ यो खतरा बढी हुन्छ, तपाईंलाई थाहा छैन, राजनीतिको नसा र महत्त्वाकांक्षा त भयंकर हुन्छ नि,’ उनले भने । यसमा उनको निजी अनुभव पनि मिसिएको छ कि !

गगन बिहेको मुडमा छन्, केवल समय फिक्स छैन । यिनको बिहेका लागि कुन दिन जुर्ला – कुन ठाउँबाट कसरी बिहे गर्ने मन छ यिनको – बिहेमा यिनले कस्तो लुगा लगाउनलान् र श्रीमतीले कस्तो लगाऊन् भन्ने चाहलान् ? यस्ता प्रश्नको एउटा गुन्टा मैले यिनका अघि बिसाएँ । उनी जवाफ दिन थाले । ‘बिहे घरबाटै गर्ने, बाजा बजाएर,’ राजनीतिमा क्रान्तिकारी छवि भए पनि बाजा बजाएर बिहे गर्ने परिवारको इच्छाको उनी विरोध गर्दैनन् । बिहेमा थोरै नजिकका साथीलाई बोलाएर मस्तले नचाउने उनको योजना छ । यस्ता साथीको सूचीमा को-को पर्लान् थाहा छैन । तर, एउटा नाम भने अहिले नै पक्का छ- ‘खगेन्द्र संग्रौला ।’ ‘खगेन्द्रदाइलाई जबर्जस्ती भए पनि मेरो बिहेमा नचाउनेछु,’ उनले भने । बिहेर्-खर्चका विषयमा पनि उनले योजना बनाइसकेका छन्- ‘धेरै खर्च गर्ने विचार छैन,’ बिहे-खर्च हजुरआमाका नाममा पाटन अस्पतालको आइसियुमा आउने बिरामीका लागि दिने उनको निर्ण्र्ाापरिवारले स्वीकृत गरिसकेको छ ।

गगन दाइजोविरोधी हुन्, हुनेवालीसँग उनको कुनै माग हुनेछैन । तर, एउटा मात्र दाइजो माग्न दिइयो भने यिनले के माग्लान् ? ‘एउटा लुगा राख्ने दराज । मेरो घरको अलि सानो भएको छ ।’ ल, यिनका ससुराबा सस्तोमै उम्किने भए † बिहेमा बकाइदा ठाँटिएर दुलाहाको लुगामा सजिने उनको धोको छ । र, श्रीमतीले पनि खुलेर शृंगार गरून् भन्ने चाहना छ । बिहेमा दुलहीहरू त्यसै पनि राम्री देखिन्छन् । गगनको चाहना भने आपmनी श्रीमती सबैभन्दा राम्री देखियून् भन्ने छ । र, साथमा दुलहीलाई नरोइदिने आग्रह पनि छ । यिनलाई श्रीमती रोएकी देखेर आफू पनि रुन्छु भन्ने डर छ कि !

बिहे कहाँ गर्ने, कसरी गर्ने र दाइजो के ल्याउनेसम्म फिक्स भए पनि उनले दुइ मुख्य कुरा अझै तय गर्न सकेका छैनन्- जुन दुइबिना बाँकी अरू तयारीको कुनै अर्थ हुँदैन । बिहेको मिति र केटी । ३१ वर्षमा गगनलाई बिहेको कुनै ठीक समय हुन्छ भन्ने लाग्दैन । ‘एउटा उमेरसम्म बेला भएको छैनजस्तो लाग्छ, त्यसपछि अचानक उमेर त गइसक्यो जस्तो लाग्छ,’ उनी भन्छन् । त, उनले विवाह कहिले गर्लान् ? ‘यस प्रश्नको उत्तर त गिरिजाबाबु र प्रचण्डले मात्र दिनसक्छन् ।’ के यिनले गगनको लमीको जिम्मा पाएका हुन् – ‘होइन, मैले त संविधानसभाको चुनाव नभई बिहे गर्दिनँ भनेको छु, चुनाव कहिले हुन्छ यो उहाँहरूले मात्र बताउन सक्नुहुन्छ,’ उनले प्रस्टीकरण दिए । गगनको यो र्सार्वजनिक घोषणा हो । र, उनले जति ठाउँमा यो घोषणा सुनाएका छन्, कसैले हाँसेर त कसैले सुटुक्क भन्ने गरेका छन्- ‘त्यसो भए, त्रि्रो बिहे नहुने भयो ?’

‘कहिलेकाहीँ मलाई पनि यस्तै लाग्छ । अत्यास पनि लाग्छ । तर, संविधानसभाको चुनाव हुनेछ र गणतान्त्रिक नेपालमा मेरो बिहे हुनेछ भन्नेमा म ढुक्क छु,’ उनी दृढ छन् । नभएर पनि त भएन ? ‘यस कारण पनि मलाई संविधानसभाको चुनाव बढी चाहिएको छ,’ राष्ट्रलाई संविधानसभा किन चाहिएको छ भन्ने आवश्यकताहरूको लामो सूचीमा थप अर्को बुँदा थपे हुने भयो- ‘बिहे गर्न ।’

बिहे गर्न सकिनेहरूको उनले र्सटलिस्ट गरिसकेका छन् । यस लिस्टमा अब केवल एउटा नाम बाँकी छ । जो बताउन उनी तयार छैनन् । यी काठमाडौंकी हुन्, जो अहिले विदेशमा पढ्दै छिन् । राजनीतिभन्दा बाहिरकी यी गगनकी साथी हुन्, केही समयअघिदेखि ‘हल्का अफेयर’ पनि छ । तर, गगनसँग बिहे गर्न यिनले पनि गणतन्त्रको बाटो कुर्लिन् – कि कुनै अर्कै र्’र्सटकट’ समाउलिन् – ‘यो अन्तिम निर्णय होइन, केवल संभावनाको कुरा हो । उनीसँग पनि जीवनका सूत्रका विषयमा कुरा हुन बाँकी नै छ,’ मतलव अरूका लागि पनि ढोका बन्द छैन ।

हनिमुनमा यिनलाई मध्यपश्चिमको कुनै जिल्लाको गाउँतिर जाने मन छ । (अब पोखराका दिन गएका हुन् ?) रोल्पा रुकुमतिरको कुनै गाउँ, बिजुली नपुगेको भए पनि उनलाई फरक पर्दैन । ‘कस्तो भने, हनिमुन जोडी भनेर चाहिँ मान्छेले चिनून् तर मलाई चाहिँ नचिनून्,’ उनको ‘रोमान्टिक’ इच्छा छ ।

यिनलाई अहिलेसम्म कतिले विवाहको प्रस्ताव राखे होलान् – वा अहिलेसम्म बिहे प्रस्तावको ‘इन-बक्स’ मा एउटै म्यासेज आइपुगेको छैन ? ‘अहिलेसम्म ६ जनाले प्रस्ताव गरे,’ यिनमा एक राजनीतिक कार्यकर्ता, तीन कलेज पढ्दाताकाका विद्यार्थी सामेल थिए । ‘तर, यी कोहीस“ग पनि मेरो सुखी जीवनको सूत्र मिलेन,’ उनले भने । उनी एक जीवनमा एउटा प्रेम भन्ने हिन्दी फिल्मको सूत्रमा विश्वास गर्दैनन् । यसैले उनले धेरैसँग प्रेम गरे । तीनवटा प्रेम त उनले हाम्राअघि गणना गरे, नभनेका अरू पनि थिए कि ? यी प्रेमिकामध्ये कतिलाई बिहेको प्रस्ताव गरे- ‘प्रेम गरेकीमध्ये एउटीलाई मैले प्रस्ताव गरँे र त्यो स्वीकार पनि भयो । तर, बिहे गर्ने भएपछि सम्बन्धलाई अर्को चस्माले हेरियो र फिट नहुने देखियो ।’ बिहे गर्ने प्रस्ताव त गगनको थियो, नगर्ने निर्ण्र्ाााहिँ कसले सुनायो – ‘कसैले पनि सुनाउनै परेन । परिस्थितिअनुसार दुवैले केही नभनीकनै बुभmयौं,’ उनले भने ।

एकजना गैरराजनीतिक युवतीसँग पनि यिनको बिहेको कुरा अघि बढेको थियो । ‘सबै कुरा मिल्लाजस्तै थियो तर तिनले राजनीतिक जीवन पनपर्दैन भनेपछि कुरा सकियो,’ उनले असफल किस्साको फेहरिस्त नै पेस गरे । ‘म देश र जनताको राजनीतिमा लागेको मान्छे, मेरो साथी मेरो उद्देश्यमा सघाउने खालको हुनुपर्छ,’ उनको आदर्श यहाँनेर आइपुगेर छल्कियो । प्रेम गरेकासँग बिहे नै गर्नुपर्छ भन्ने लाग्दैन तर बिहे गर्नेसँग प्रेम हुनुपर्छ भन्ने चाहिँ उनको कडा मान्यता छ । ‘प्रेम गर्न आ“खामा हेरे पुग्छ तर बिहे गर्न दुवैले फर्किएर एउटै दिशामा हेर्ने हुनुपर्छ,’ गजब छ !

संसारमा उनले देखेकामध्ये सबैभन्दा मिलेको जोडी आपmनै माता-पिताको हो । राजनीति गर्नेमा चाहिँ उनलाई नरहरि आचार्य-शारदा शर्माको जोडी सबैभन्दा मिलेको लाग्छ । यस्ता जोडी उनले फिल्ममा पनि नदेखेका होइनन् । ‘कभी खुसी कभी गम’ को शाहरूख र काजोलको जोडी मलाई सारै मनपरेको जोडी हो,’ हरेक हप्ता हलमा पुगेर फिल्म हर्ेर्ने ‘फिल्मी गगन’ ले भने । उनी कुनै बेला प्रीति जिन्टाका पmयान थिए, अहिले आयशा टाकिया मन पर्छिन् । ‘प्रीति जिन्टा अलि बूढी हुन थालिन्,’ गगनको उमेरचाहिँ नबढेर पाँच वर्षअघि नै रोकिएको थियो कि ?

उनका अधिकांश साथीले विवाह गरिसके । साथीको मात्र के कुरा गएको वैशाखमा उनका कान्छो भाइको पनि बिहे भइसक्यो, जो उनीभन्दा चार वर्ष कान्छा छन् । भाइको बिहेमा स्वागतका लागि गेटमा बसेका गगनको कामचाहिँ स्वागत गर्नेभन्दा बढी आगन्तुकलाई जवाफ दिने रह्यो । कुनैबेला यिनको मनमा एउटा फेन्टासी थियो । ‘बिहेको मण्डपबाट प्रेमिकालाई उठाउने’ यो खतरनाक फेन्टासी केही वर्षअघि एकदिन झन्डै पूरा भएको थियो । ‘साथीहरूको हुल लिएर जाने भन्ने फेन्टासी थियो तर त्यो योजना बन्दा-बन्दै तुहियो,’ अहिले सम्भिmँदा उनी चैनको सास फेछन् । यदि यिनकै बिहेमा कसैले यस्तै योजना बनायो भने गगन के गर्दा हुन्- ‘योजना त बनोस् तर त्यो पनि बीचमै तुहियोस्,’ त्यस्तो भएन र एक हुल युवा मण्डपमै आइपुगे भने ! राजनीति गर्ने मान्छे चतुर हुन्छ, गगनले तिनलाई भाषण सुनाएर फर्काइदेलान् ?

गुमनाम वहिर्गमन र आगमन

गुमनाम वहिर्गमनपछि म राजधानी फिरेको छु । सवै कुराहरु निर्धारित हुदा रहेनछन त्यसैले पनि यसपटकको यात्राको सेड्युल निर्धारित थिएन । समग्रम यात्रा उपलव्धीपुर्ण रह्यो । यात्रा वेकारका हुदैनन यसपटकपनि वेकारमा दिन वितेका छैनन । उपलव्धी कति थिए भन्ने कुरा त समयले निर्धारण गर्ला । खैर, दश दिनपछि राजधानी भित्रिदापनि राजधानीको वेथितिमा कुनै कमी नआएको देखेर लाग्नुसम्म दिक्क लागेको छ । हिड्ने वेलामा रिजर्भमा रहेको वाइकमा फिर्तीपछि तेल हालुला भनेर छोडेको फिर्दा स्थिति झन विकराल वनेको देख्दा दिक्क लागको छ । निरिह सरकार कस्तो हुन्छ हेर्न टाढा जानु नपर्ने भएको छ । वर्तमान कोइराला सरकारको निरिहता यस अघिका सरकारहरुमा देखिएको थिएन ।

तराइ ठप्प छ, राजधानीमा इन्धन छैन, धारामा पानी आउदैन, कतैको यात्रा गर्नु ठुलै जोखिम उठाउनु हुन्छ, विद्यालय धमाधम वन्द हुदैछन के भएको यस्तो एक प्रकारको हाहाकार छ । मुलुकमा गृह प्रशासन निरिह र मुक दर्शक वनेको छ ।

यद्यपि आत्तिइ हाल्नु पर्ने स्थिति भने छैन । कालो वादलमा चांदीको घेरा भनेजस्तै संभावनाहरु विलिन भएका भने छैनन । सातदलीय सिन्डिकेटले शुरु गरेको वार्ता प्रयासले संभावनाका ढोकाहरु उघारेको छ । नेपालको अप्ठेरोलाइ मित्रराष्ट्र र दाताहरुले महशुस गर्न थालेका छन । आत्मनिर्भरता जरुरी हुंदो रहेछ भन्ने नेपाली स्वंयले महशुस गर्न सिकेका छन । खैर वेथिति र संभावनाका यी कुराहरु भन्दा म राजधानी भित्रिएको खवर तपाइलाइ छोड्दै आजलाइ यत्ती नै ।

February 11, 2008

निजामती सेवामा महिला सहभागिता


राज्यका हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्न नीतिनिर्माण तहसम्म ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। सबै क्षेत्रमा नभए पनि राज्यको स्थायी सरकार मानिने निजामती प्रशासनमा गएको २६ मङ्सिरदेखि यो व्यवस्थाको व्यावहारिक कार्यान्वयन शुरु गरिएको छ। लोकसेवा आयोगले निजामती सेवा ऐन तथा नियमावलीले तोकेबमोजिम आरक्षणबाट राजपत्राङ्कित तृतीय श्रेणीमा महिलाका लागि ४४ सिटको विज्ञापन पनि गरिसकेको छ।

निजामती प्रशासनमा महिला तथा सबै वर्ग र जातिको प्रतिनिधित्व बढाएर कर्मचारीतन्त्रलाई समावेशी बनाउने माग करिब १० वर्षदेखि नै उठेको हो। त्यस अनुरुप निजामती सेवा (दोस्रो संशोधन) ऐन, २०६४ को दफा ७ ले निजामती सेवामा ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्‍यो। ३३ प्रतिशतको अवधारणा अनुरुप ऐनले यो ४५ प्रतिशतमध्ये महिलालाई १४.८५ प्रतिशत तथा आदिवासी/जनजातिलाई १२.१५, मधेशीलाई ९., दलितलाई ४.०५, अपाङ्गलाई २.२५ र पिछडिएको क्षेत्रलाई १.८ प्रतिशत आरक्षण सुनिश्चित गरेको छ। यो व्यवस्थापछि एकातिर निजामती सेवामा हाल ८ प्रतिशत रहेका महिलाको सहभागिता कहिलेसम्म कति बढ्ला भन्ने चर्चा चलिरहेको छ भने अर्कोतिर आरक्षणको अवधारणाप्रति असन्तुष्टि पनि देखिएको छ।

पुरुषको सङ्ख्या ३७ भएको निजामती सेवाको माथिल्लो तह (विशिष्ट श्रेणी) मा महिला एक जना मात्र छन्। तीन वर्षअघि ऋद्धिबाबा प्रधानले अवकाश पाएपछि लामो समयसम्म एक जना पनि महिला नरहेको यो श्रेणीमा दुई महिनाअघि बढुवाबाट २७ सचिव थपिँदा अर्थमन्त्रालयकी सहसचिव वृन्दा हाडा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव भएकी छन्। अन्य तहमा पनि महिलाको सहभागिता सन्तोषजनक छैन। निजामती सेवामा प्रवेश गर्ने महिलाको सङ्ख्या पनि उत्साहजनक छैन।

लोकसेवा आयोगका सदस्य तथा प्राध्यापक डा. भीमदेव भट्टको भनाइमा एकातिर शिक्षा, सशक्तिकरण र अवसरबाट वञ्चित रहेको अवस्था, अर्कोतिर दोहोरो जिम्मेवारी र असुरक्षित वातावरणले महिलाहरूलाई निजामती सेवामा प्रवेश गर्न झ्न् कठिन हुने गरेको छ। उनी भन्छन्, "दुर्गम गाउँका महिलाका लागि शहरमा आएर लोकसेवाको परीक्षा दिने वातावरण छैन। विगतको अवस्था हेर्ने हो भने निजामतीमा ३३ प्रतिशत महिला सहभागिता गराउन अझ्ै ५० वर्ष कुर्नुपर्छ।"

आरक्षणबाट नीतिनिर्माणको तहमा महिला सहभागिता बढ्छ भन्नेमा कतिपय उच्चपदस्थ महिलाहरू पनि विश्वस्त छैनन्। आरक्षण र सकारात्मक विभेद जस्ता व्यवस्थाले महिलालाई काम गर्ने उत्साह नदिने उनीहरूको तर्क छ। निजामती सेवा पहिलो संशोधन २०५५ को दफा २१ मा बढुवाका लागि उम्मेदवार हुन आफू कार्यरत पदमा महिलाले चार वर्ष र पुरुषले पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने व्यवस्था छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी उपसचिव यामकुमारी खतिवडा भन्छिन्, "बढुवा हुने आधारहरू महिला पुरुष दुवैलाई उही छन्, तर एक वर्ष अगाडि नै उम्मेदवार हुन पाउने व्यवस्थाले गर्दा महिलालाई विशेष व्यवस्थाबाट आएको भनेर कमजोरका दृष्टिले हेरिन्छ।" अहिलेसम्म यो व्यवस्थाअन्तर्गत खतिवडा र वृन्दा हाडाले मात्र बढुवा हुने मौका पाएका छन्।

त्यस्तै, लोकसेवा आयोगको परीक्षामा पहिलो पटक सहभागी हुन महिलाले ४० वर्ष र पुरुषले ३५ वर्ष ननाघेको हुनुपर्ने तथा छनौटमा परेपछि पुरुषलाई एक वर्ष र महिलालाई ६ महिना परीक्षणकालमा राख्ने व्यवस्था छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी शाखा अधिकृत कल्पना श्रेष्ठ भन्छिन्, "यी दुवै व्यवस्था महिलाको हकमा उल्लेखनीय छैनन्। किनभने उत्साहपूर्वक जाँच दिने उमेर ३५ वर्षअघि नै हो।" महिलालाई दिइने विशेष व्यवस्था सहर्ष स्वीकार्न हिच्किचाउने हाडा पनि आरक्षणबाट सशक्तिकरण हुन नसक्ने तर्क राख्छिन्। उनी भन्छिन्, "त्यसबाट महिलाले नै सक्षम छु भन्ने अनुभव गर्न नसक्ने हुँदा चुनौतीपूर्ण काम गर्न सक्दैनन्।"

महिला आफैँले चाहने र परिवारले पढ्ने अवसर जुटाइदिने हो भने जस्तोसुकै चुनौती पार गर्न सक्ने महिलाको कमी छैन। यस्तो धारणा राख्ने योजना आयोगकी शाखा अधिकृत जानुका सुवेदी भन्छिन्, "महिलालाई आरक्षण होइन समान अवसरको खाँचो छ।" आरक्षणले महिलालाई अपहेलित गराउने, चाकडी र चाप्लुसीको प्रवृत्ति बढाउने हुँदा प्रतिस्पर्धाबाटै अगाडि आउने अवसर दिनुपर्ने उनको धारणा छ।

अर्कोतिर, आरक्षण वा सकारात्मक विभेद पनि प्रतिस्पर्धामूलक नै हुन्छ भन्नेहरू पनि छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्दप्रसाद कुसुम आरक्षणबाट केही वर्षमै महिला सहभागिता बढ्ने र निजामती सेवा समावेशी भई चुस्त र प्रभावकारी हुनेमा विश्वस्त छन्। उनी भन्छन्, "दुर्गम क्षेत्रमा बसोवास गर्नेलाई सशक्त र शिक्षित गराउने एउटा माध्यम आरक्षण पनि हो। आरक्षण सँगसँगै शिक्षा, अवसर र सशक्तिकरणमा ध्यान दिइयो भने मूलधारमा ल्याउन त केही समय लाग्ला, तर सहभागिता बढाउन भने सकिन्छ।"

लोकसेवा आयोगकी सदस्य उर्मिला श्रेष्ठ आरक्षणबाट निजामती सेवामा प्रवेश गर्ने महिलाहरूले आफू कमजोर छु भन्ने भावना नराखी सक्षम छु भनेर आत्मविश्वास र जिम्मेवारीका साथ लाग्नुपर्ने बताउँछिन्। आरक्षणको व्यवस्था गरे पनि त्यो कतिको प्रभावकारी हुन्छ भन्नेतिर भने जिम्मेवार निकायले विश्लेषण नगरेको स्पष्ट गर्दै श्रेष्ठ भन्छिन्, "आरक्षणको व्यवस्था गरिनु सहभागिता बढाउने हिसाबमा राम्रो पक्ष हो, तर आरक्षणबाट गएकाहरूलाई पनि दक्ष भने बनाइनु पर्छ र यो व्यवस्थाप्रतिस्पर्धामूलक तथा केही समयमम्मका लागि मात्र हुनुपर्छ।" यता केही निजामती कर्मचारीले भने लोकसेवाको परीक्षा प्रणालीमा परिवर्तन गरी आधुनिक, प्रभावकारी तथा जवाफदेही निजामती सेवाको लागि सीप र क्षमता भएका व्यक्ति आउन सक्ने वातावरण बनाउनुपर्ने धारणा राखेका छन्। आरक्षण र सकारात्मक विभेदको माध्यमबाट महिला सशक्तिकरण गर्नेतर्फ केही प्रयास भएका पनि छन्। सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दातृ निकायका कार्यक्रमले लैङ्गिक समता र समानताको क्षेत्रमा केही सुधार भएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा सञ्चालित लैङ्गिक समताको मूल प्रवाहीकरण कार्यक्रम, एसियाली विकास ब्याङ्क र विश्व ब्याङ्कले तयार पारेको अध्ययन र प्रस्ताव, सामान्य प्रशासन मन्त्रालयले घोषणा गरेको रोडम्यापतथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय सेवा ऐन र दशौं योजनाका प्रावधानहरू यसै दिशातर्फ निर्देशित छन्।

झ्ण्डै एक वर्षअघि यो तालिम लिएका ३७ महिला एकैपटक शाखा अधिकृत भए। महिला सशक्तिकरणको लागि सकारात्मक विभेदको अवधारणाका तालिमहरूबाट उपेक्षित समुदायका महिलाहरूलाई प्रतिस्पर्धा गर्न सहयोग हुनेमा उनीहरू विश्वस्त छन्।

आरक्षणको अवधारणाबाट सञ्चालित कार्यक्रम त्यति प्रभावकारी नभएको पनि केही संस्थाको धारणा छ। महिला कानून र विकास मञ्चले महिला आन्दोलनको माग आरक्षण मात्र नभई औपचारिक समानता प्राप्त गर्ने विशेष उपायहरूको सट्टा सारभूत समानताको माग भएको बताएको छ। आरक्षणबाट अल्पसङ्ख्यक र पीडित महिलाहरूले प्राथमिकता पाउनुपर्नेमा सम्पन्न व्यक्तिहरूले नै प्राथमिकता पाएका उदाहरण पनि प्रशस्तै भेटिन्छन्।

पितृसत्तात्मक सामाजिक संरचना तथा परम्परागत सोचका कारण व्यावसायिकहुनका लागि महिलाले अनेकौँ चुनौती भोग्नुपर्छ। त्यसमाथि आरक्षण वा सकारात्मक विभेदबाट पनि अझ्ै बढी चुनौती भोग्नुपर्ने तथा सेवा चुस्त र प्रभावकारी हुन नसक्ने सम्भावना पनि देखिन्छ। डा. भीमदेव भट्ट भन्छन्, "आरक्षणले मात्र सहभागिता बढ्न सक्दैन। बरु सशक्तिकरण र अवसरका साथसाथै जिल्लाजिल्लामै स्कूल/क्याम्पस सञ्चालन र लोकसेवाको परीक्षा दिने वातावरण बन्ने हो भने महिला सहभागिता बढ्न सक्छ।"

७ महिनादेखि गायब मेलिना

बेलाबखत ओंठ निचोर्‍यो भने दूध आउने कलिला तरुनी केटीहरुको नाङगो फोटो खिच्ने सेक्सी फोटोग्राफर राजिव श्रेष्ठको प्रेम चर्चा, कहिले निर्देशक महेन्द्र बुढाथोकीसंग बिहे हुने चर्चा अथवा अरुभन्दा पनि मायाप्रेम र बिहेवारीको झिनामसिना हल्लाले बारम्बार चर्चा पाउने स्लिम सुन्दरी नायिका मेलिना मानन्धर अहिले नेपाली चलचित्र उद्योगबाट लगभग गायब जस्तै अवस्थामा पुगेकी छिन् ।

नाङगो शरीर देखाएर फोटो खिच्दा होस वा चलचित्र असफल भएर होस् वा बेमौसमको बिहेको हल्लाले मिडियामा चर्चा हुने मेलिना ७ महिनादेखि बेपत्ता हुँदा अहिले कसैबाट खोजीनीति छैन । उनी उद्योगबाट सम्पर्कबिहिन भएपछि न त मिडियाले खोजीनीति गर्‍यो न त उद्योगले नै । ठूलो पर्दामा असफल भएपछि आफ्नै टेलिचलचित्र करुणाबाट निर्मात्री बनेकी मेलिनाले यो संगसंगै एलसीडी चलचित्र ज्वालामुखी पनि निर्माण गरेकी थिईन् करुणाकै निर्देशक महेन्द्र बुढाथोकीसंग मिलेर । ज्वालामुखिको निर्देशक बुढाथोकीसंग बिहे हुने हल्लाले एकताका कलिउड ताते पनि निर्देशक बुढाथोकीले अर्कैसंग बिहे गरेपछि उनले पनि जापानमा बस्ने चलचित्रको सानातिना भूमिकामा नाच्ने, खेल्ने एक युवकसंग बिहे गरेको हल्ला चलेको थियो यद्यपि उनले यसको खण्डन गरेकी थिईन् ।
त्यसपछि यति सानो सुन्दर मुलुकमा रहेकी सुन्दरी नायिका हराएको अहिले सात महिना बितिसक्यो । तर खोजी कसैले गर्न सकेन । अहिले मेलिनासंगै कलीउडमा चर्चा पाएका अनुहार निरुत्ता सिंह, सञ्चिता लुइटेल, सज्जा मैनाली, बिपना थापा, झरना बज्राचार्य, प्रिया रिजाललगाउत आधा दर्जन नायिका गायब भएका छन् चलचित्र पर्दाबाट । यि नायिका यतिबेला कलिउड नगरीलाई न्यास्रो र सुनसान बनाएर कहाँ के गरेर बसेका होलान् बिचरा कसैलाई अत्तोपत्तो छैन न त खोजीको बिषय बनेको छ ।

February 7, 2008

सात दलले राम्रो काम गरेका छैननः राजा ज्ञानेन्द्र


राजा ज्ञानेन्द्रले हालै एक जापानको प्रतिष्ठित दैनिक योमिउरी दैनिक पत्रिकालाई अन्तर्वाता दिदैं अन्तरिम सरकारले नेपालको संबिधानमा प्रष्टसंग गणतन्त्र उल्लेख गरिएकोमा आपक्ति जनाएका छन् । राजा ज्ञानेन्द्रको बिचारमा नेपालमा राजतन्त्रको बारेमा फैसला गर्ने अधिकार नेपाली जनतालाई मात्र भएको तर सात दललाई नभएको उल्लेख गरेका छन् ।

राजा ज्ञानेन्द्रले यही फेब्रुअरी ४ तारिखका दिन जापानी मिडियाहरुलाई नारायणहिटी राजदरबारमा दिएको अन्तर्वाता जापानको एक प्रतिष्ठित दैनिकमा छापिएको थियो । जापानीभाषामा प्रकाशित उक्त अन्तर्वार्ताको नेपालीमा अनुदित उपलब्ध सार यस्तो छ :-
. राजतन्त्र
६ दलहरु र माओबादी मिलेर बनेको आन्तरिम सरकारले २००७ सालको अन्त्यतिर राजतन्त्र हटाउने निर्णय गरी अन्तरिम संबिधानमा गणतन्त्र (रिपब्लिक) भनेर प्रष्‍ट लेखेको भएतापनि यो बहुसंख्यक नेपाली नागरिकहरुको भावना बिपरित छ। दलका केहि नेताहरुले मात्र देशको राज्य ब्यवस्थाको निर्णय गरेको कुरा नै प्रजातान्त्रिक छैन । यस्तो यँहाको परिस्थिति अन्तर्राष्‍ट्रिय समुदायले समेत राम्ररी बुझ्नु पर्दछ । राजतन्त्र राख्‍ने नराख्‍ने कुराको निर्णय गर्ने अधिकार जनतासंग छ। जुन अधिकारको प्रयोग जनता स्वयमले गर्नुपर्दछ। बहुसंख्यक जनताहरुले अहिलेपनि राजतन्त्र अत्यावश्यक छ भन्ने ठानेकोमा म बिश्वस्त छु । अहिले परिवर्तित समय छ तर समय आएपछि त्यो कालो बादलको बिचमा एउटा उज्यालो किरण निस्कोस भन्ने चाहान्छु

. प्रजातन्त्र
बहुसंख्यक नेपालीहरु आफ्नो चाहनाअनुसार बोल्न नसकिरहेको अवस्था छ। राजनीतिको थलो भएको काठमाडौं मात्र नेपाल होईन । हिमाल, पहाड र तराईका जनताहरुको आवाज अहिलेसम्म सुनिएको छैन। राजनैतिक ब्यवस्था भनेको ग्रासरुट लेभलबाट बलियो बनाउनुपर्छ । अप्रिल १० तारिखमा योजना गरिएको संबिधान सभाको चुनावमा सबैथरी जनताहरुले आफ्नो अधिकारको प्रयोग गर्न पाउनुपर्दछ । स्वतन्त्र, धांधलीरहित, शान्ति तथा सुरक्षाको बातावरणमा चुनाव हुनुपर्दछ । यदि यस्तो बातावरणको श्रृजना गर्न सकिदैन भने चुनाव गर्न संभव नहोला जस्तो लाग्दछ, हेरौ कस्तो हुन्छ।
. देशको अवस्था
अहिलेको अन्तरिम सरकारले गरेको सबै काम राम्रो होईन भन्ने सुनेको छु, जुन अपसोचको कुरा हो। बिशेषगरी कानुनको पालना छैन (रुल अफ ल), राष्‍ट्र अव्यवस्थित छ भन्ने सुन्छु । पहिलेको नेपाल धेरै शान्त थियो । अहिलेको जस्तो तनावग्रस्त थिएन । अन्तरिम सरकारको नेताहरुले गरेको काम ठिक वा बेठिक छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।
. जापानसंगको सम्बन्ध
जापानको सम्राट तथा साम्राज्ञीको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना सन्देश ब्यक्त गर्न चाहान्छु । जापानका नागरिकहरुप्रति भित्री हृदयदेखिनै मित्रतापूर्ण अभिवादन गर्दै धन्यवाद दिन चाहान्छौ । म जापानले नेपालको प्रजातन्त्र स्थापनाप्रति देखाएको चासो र निर्वाचनको सुपरिवेक्षणमा गरेको सहयोगबारे बुझेको छु । यस्तो किसिमको सहयोगले हाम्रा नागरिकहरुलाई राष्‍ट्रनिर्माणमा अघि बढ्न हौसला मिल्नेछ।

February 6, 2008

रहौंला हामी नेपाली कहां नेपालै नरहे


केपी ढुंगाना

बेलुका ११ वजेको छ । काठमाडौं चिसोमा कठ्यांग्रीएर कुनामा तातोको खोजीमा लुकेझै लाग्छ । ओहो आज दामनमा हिउं पर्यो रे । सम्झदै चिसो सिरकभित्र घुस्रिन्छु म तातोको खोजीमा । ओंहो दामनको हिउं खाटमा पनि परेछ कि क्या हो कस्तो चिसो । आंखामा निन्द्रा छैन । होस पनि कसरी । यसको आउने समय पनि त भएको छैन । जतिखेर मन लाग्यो त्यत्तिखेर आउने भए यसको के महत्व हुन्थ्यो र । यसो रिमोट समाए र थिचे । २९ इन्चको एलजीको कांचको पर्दामा देखिएको स्टार प्लस जहां भारतका साना साना बालबालीका आफ्नो प्रतिभा देखाइरहेका थिए । जसको नामाकरण गरिएको रहेछ छोटे उस्ताद

एकै छिनमा एक बालीका आइपुगिन । जसको हातमा भारतको राष्ट्रिय झण्डा तिरंगा थियो । एं यो त भारतिय स्वतन्त्रता दिवसको अवसरको इस्पेशल कार्यक्रम रहेछ । विस्तारै उनी मन्चमा आइन र गाउन थालीन बन्दे मातरम । मेरो शरिर सिरिंग भयो । कांचको पर्दामा देखिएकाहरु सबै देशभक्तिपुर्ण भावमा रमिएरहेका थिए झुमिरहेका थिए ।
विस्तारै मेरो कानमा पनि अर्कै धुन बज्न थाल्यो त्यसले भनिरहेको थियो संयौ थुंगा फुलका हामी एउटै माला नेपाली । झसंग भए म । हैन संयौ थुंगा हैन । अनायसै शब्द फुत्कीए । थाहा छैन किन ।
सायद आज दिनभर मधेसमा देखिएका दृष्यले मेरो मष्तीस्क खलबलिएको हुनसक्छ । त्यसैले मनले नेपालीलाइ सयौं थुंगा भनिरहेको भएपनि मस्तीष्कले भरिहेको थियो हैन तेरा धेरै फुलहरु चुंडिदैछन । त्यसैले तेरो यो लोकतन्त्र आएपछिको राष्ट्रीय गान पनि काम छैन ।
संविधान सभाको तयारीका लागि सात दल अहिले मधेसमा पुगेका छन । तर, उनीहरुको स्वागत फुलमालाले हैन काला कपडा र बमको नमिठो गन्धले गरिएको छ । मुर्दावादको नारा घन्कीएको छ । जिल्ला बन्द छ । मधेस र मधेसी जनताको अधिकारका लागि बन्दुक उठाएको दावी गर्नेहरु भनिरहेका छन पहिला अधिकार दे अनि भाषण गर्न आइज । सात दलका नेता भनिरहेका थिए संविधान सभा तपाई हाम्रो सबैको अधिकार दिने स्थान हो । उनीहरु प्रतिउत्तर फर्काइरहेका छन हैन यो पहाडियाहरुको भ्रम हो, हामीलाइ अधिकार दे । कस्तो अधिकार त - स्वतन्त्र मधेसको जहां आउन नाक चुच्चे पहाडिया र बक्खु लगाउने हिमालीहरुले भिसा लिनु परोस् ।
झसंग हुन्छु । फेरी कल्पनावाट धरातलमा आउंछु । कांचको पर्दामा छोटे उस्ताद निरन्तर छ अझै । बोलि फेरीएछ अनी पात्र पनि घन्कीरहेको थियो ए मेरे बतनके लागो । उफ लामो सास फेर्छु । कता कता मधेसको याद आउंछ । माया लाग्छ मधेसको चौपट । आफैं अचम्मीत पनि हुन्छु, किन माया लागेको होला यस्तो विछट्टै । कारण के होला - २७ वर्षमा २ पटक छोएको छु त्यो मधेसको माटो । एक रात विताएको छु त्यसको छातीमा । म जन्मेको, हुर्केको पहाडमै त हो । यो पहाडको पो माया लाग्नुपर्ने । किन माया लाग्यो मधेसको ?

मान्छेलाइ कुनै अप्रत्यासित विषय या वस्तुसंग २ कारण माया लाग्छ रे । पहिलो कारण गुमाइसकेपछि । अनी दोस्रो कारण गुमाउने डर लागेपछि । मैले मधेस गुमाइसकेको त छैन । अहिलेपनि त्यो नेपालको सिमांकन भित्रै छ । भनेपछि के ममा अब मधेस गुमाउने भय पलाएको हो त ?

कोल्टे फेर्छु । अनायसै फेरी लामो सास निस्कन्छ मुखवाट । कता कता कस्तो नमिठो लागेर आउंछ । मेरो खाटको सिमाना खुम्चिए झै लाग्छ । देशका सिमाना विविध कारणले टुक्रिएका छन । सबैको के बेलिविस्तार लगाउन सकिन्छ र । भारतकै कुरा गर्ने हो भने पाकिस्तान बनेर टुक्रियो त्यो । कारण थियो धर्मको । पाकिस्तान पनि के संग्लो रहृयो र बंगलादेश बनेर गयो त्यो पनि । कारण थियो जातको ।

तर भारतियहरुले अहिले पनि पाकिस्तान र बंगलादेशलाइ मेरो भुमि हैन भन्न सकिरहेका छैनन । हरेक वर्ष मनाइने स्वतन्त्रता दिवसका दिन सबैले सम्झन्छन त्यो एकिकृत भारत । अहिले त मधेस मेरै छ । २ पटक छोएपनि १ रात कटाएपनि मधेस मेरो पनि हो नी ।

हो
, हिजोका दिनमा गल्ति भए । नभएका हैनन । तर, त्यो गल्ती निरंकुश शासकहरुले गरेका हुन, आम नेपालीले त हैन नी । तर केही मुर्ख शासकले गरेको गल्ती कतै आम नेपालीले ब्यहोर्नुपर्ने त है - जिउ शिरिंग हुन्छ ।

एक्कासि कोही हांसेको आवाज सुन्छु । अट्टाहास हांसो । कता कता त्यो हास्ने अनुहार कहिले सोनिया गान्धीको जस्तो देख्छु त कहिले मनमोहन सिंहको जस्तो लाग्छ । कहिले लालकृष्ण आडवाणि बन्छ त्यो मुहार त कहिले बाल ठाकरे जस्तो । हैन,हैन ल फेरी अनुहार फेरीयो । लौ अब त्यो हास्ने अनुहार त जयकुष्ण गोइतको जस्तो पो छ । ल फेरी बदलियो । लौ ज्वालासिंह,हैन हैन राजेन्द्र महतो, ए हैन उपेन्द्र यादव ।

कांचको त्यो अर्थहिन पर्दामा चार कोणे तिरंगा नाचिरहेको छ । तर मेरो आंखाका मेरो रातो र चन्द्र सुर्य अंकित झण्डा कतै जलिरहेको दृष्य पो आउंछ । बन्दे मातरम हैन, कतै गुन्जिरहेको मलिन स्वर सुनियो । जसले भनिरहेको झै लाग्यो- रहौंला हामी नेपाली कहां नेपालै नरहे ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com