छाप,जमावी र नफर्कने ती दिनहरु
गल्यागंवाट करिव १५ किलोमिटर पश्चिम तिर हुइकिएपछि आउने सानो वजार छाप मिर्मीको प्रवेशद्धारपनि हो । विगतमा मोटरको वाटो नहुदा विर्घा, कोटाकोट र कारिकोट पुग्ने वाटो यहि छाप वाट छुट्टिन्थ्यो। छापवाट डाडै डाडा हिड्ता तानसेनको चौतारा भन्ज्यागं, पारी पाल्पाको गुंवा, यम्घा, वरागंदी, गुल्मीको कर्मीचौर, दिहिगं, हिलेको पहाड हेरेर हिड्दाको मजै वेग्लै हुन्थ्यो । साझको जुनेलीमा यो वाटो हिड्नुको मजा वेग्लै हुन्थ्यो ।
राजधानीमा वसेर मन्द झरीका बीच यी अक्षरहरु टाइप गरीरहदा मलाइ २०५२ को माघको याद आएको जसवेला मेरो उमेर ठ्याक्कै १६ पुगेको थियो उत्साहकासाथ गल्यागंमा परेको प्रवेशीकाको परिक्षा सकेर सांझको जुनेलीमा साथीहरुसंग रमाइला र भविष्यका योजना वनाउदै गफ गरेर हिडेको झझल्को आइरहेको छ, यतिवेला । त्यो गफमा उमंग थियो, उत्साह थियो र थियो भविष्यको मिठो कल्पना । आज ती धेरै सपनाहरु मेरो उमेरसंगै छिप्पीएर वुढ्यौलीमा लागेका छन । गफका सहयात्री केटी साथीहरु विदेशमा रहेका श्रीमानको घरफर्कने दिन कुर्दै होलान, शिव अहहिले ओमानको कुनै कम्पनीम व्यस्त होलान, कुलुमको नारन दुवइवाट भर्खरै फर्केर परिवारसंग केही दिन विताएर फेरी परिवारलाइ रुवाउदै फर्केदै होलान, खिमानन्द जनतामावीकै सर भएका छन । गैरावारी सानु दुवइमा देश भुलेर वसेका छन । पहादीकी भगवती अहिले भर्खरै जन्मेको दोश्रो सन्तानको सयाहारमा छिन । कित साथीहरु सन्तानका वावु आमा भएका छन , कति देशमा छन, कति विदेशमा भाग्य अजमाउदै होलान । कति सुखमा होलान कति दुखमा होलान ।
कतिले ती दिन भुले होलान कतिले ती दिन संझदै होलान साथीहरुको सुची लामो छ । त्यो सुचीमा अनेक रुप,रंग,चाल र ढंगका मित्रहरु एकपछि अर्को गर्दै मेरा मानस पटलमा आएका छन । वी.सं २०४७ देखि २०५१ सम्म जमावीमा विताएका स्वर्णीम दिनहरु जति चाहेपनि विर्सीन कठिन हुदो रहेछ । छाकुना र अरुवामा भागी भागी पौडी खेल्न गएका दिन, जरुवाका पानी र डुम्री खाएका दिन, यसो मौकामिल्दा युगराजकोमा चुकाउनी खाएका दिन । चिफलडांडाको भिमका पसलमा उधारो विस्कुट खाउर अहिलेसम्म नतिरेका दिन । पकौडी वजैकोमा जेरी खादाका दिन, या दिनदयालका ठुला गरामा डन्डा लौरा खेल्दाका दिन । खोलाको पिपलमा आगो लगाइदिदाका दिन या कुलाको वंहादमा विदाइ गर्दाका दिन "कठै ति दिन गैगए" अव यो जुनिमा लाख कोसिश गर्दापनि नफर्कने ती दिनहरु ।
वालपन गुमाएका मेरा वयका साथीहरु जो कतार, दुवइ या वम्वैका गल्लीमा होलान या भाग्य अजमाउन टाढा कतै युरोप या अमेरिका पुगेका होलान , सहपाठी युवतीहरु कतै । श्रीमानको पर्खाइमा होलान या घांसको डोको भर्दै होलान, कोही चक डस्टर समाएर शिक्षीकाको भुमिकामा होलान । ती तमामा साथीहरुलाइ जसको जमावी, विर्घा र यो गांउसंग कुनै न कुनै रुपमा साइनो जोडिएको छ । राजधानीमा जाडो सकिएको संकेत गर्न मन्द झरी परिरहदा ती तमाम मित्रहरुको संझनामा ।